६ सय वर्ष पुरानो मस्जिदलाई जगैदेखि उखेलेर २ किलोमिटर पर सारियो

रिता घिसिंग

एजेन्सी : टर्कीमा ६ सय वर्ष पुरानो मस्जिद नयाँ बन्न लागेको बाँधको बीचमा परिरहेको थियो । उक्त मस्जिदलाई तीन भागमा बाँडियो र रोबोट ट्रान्सपोर्टको माध्यमबाट २ किलोमिटर पर अर्को स्थानमा स्थापित गरिएको छ । मस्जिदलाई जगैदेखि उखेलेर अर्को स्थानमा स्थापित गरिएको हो । इयुबी मस्जिद हसनकैफ शहरमा थियो । यहाँ टर्कीको चौथो ठूलो बाँध इलिसु बनाइँदैछ । विशेषहरुले मस्जिद बाँधको डुबान क्षेत्रमा पर्ने बताएका थिए । मस्जिदका अन्य दुई भागलाई पनि यसै वर्ष अर्कै दुई स्थानमा स्थापित गरिएको थियो ।

२५०० टन तौलको मन्जिदको तेस्रो भागलाई ३ सय पाङ्ग्रा भएको शक्तिशाली रोबोटको माध्यमबाट न्यू कल्चरल पार्क फिल्डमा स्थापित गरिएको हो । यो ठाउँमा ऐतिहासिक महत्वमा भवनहरुलाई संरक्षित गरिन्छ । हसनकैफका मेयर अब्दुलकहाप कुसेनले भने ‘बाढीको बानीले ऐतिहासिक महत्वमा भवन नबिग्रिउन् भनेर तिनीहरुलाई अर्को ठाउँमा सारिँदैछ । हसनकैफलाई १९८१ मा संरक्षित शहरको दर्जा दिइएको छ । यहाँ करिब ६ हजार गुफा र बाइजेन्टाइन युगको किल्लासमेत छ ।

इतिहासकारका अनुसार हसनकैफ शहर ९ सभ्यताको साक्षी हो । इसापूर्व २ हजारका लेखमा समेत यो शहरबारे उल्लेख भएको इतिहासकारहरु बताउँछन् । बाँध बनाउनुअघि नै युरोपेली बैंकहरुले टर्कीलाई सुझाव दिएका थिए । उनीहरुले बाँध बनाउने काममा विश्व बैंकका शर्तहरुको पालना हुनुपर्ने बताएका थिए । बैंकहरुले ऐतिहासिक महत्वका भवन र पर्यावरणको संरक्षण हुनुपर्ने भन्दै यदि यस्तो नभएमा बाँध बनाउने रकम नदिने भनेका थिए ।

प्रतिक्रिया