विपन्न बालिकाको अध्ययनका लागि सहयोगार्थ एकल साँझ हुने

शर्मिला गुरुङ

काठमाडौँ, ८ पुस : ग्रामीण क्षेत्रका विपन्न बालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘गायिका देवीका बन्दना एकल साँझ’ को आयोजना गरिने भएको छ ।

काठमाडौँ, नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका बालिकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै आवश्यक पुस्तक, झोला र स्कुल पोशाकलगायत पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष भरतकुमार श्रेष्ठले यहाँ आज पत्रकार सम्मेलनमा आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयसम्म पुग्न नसकेको बालिकालाई आर्थिक सहयोग गर्ने उद्देश्यले यही पुस १२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया