महिला सामूहिक तरकारी खेतीतर्फ

शर्मिला गुरुङ

बेझाड, ९ पुस : व्यावसायिक तरकारीखेती गर्न वडा कार्यालयले सहयोग गरेपछि रामपुर नगरपालिका– ६ का महिलाले सामूहिक रुपमा तरकारीखेती शुरु गरेका छन् ।

कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक महिला कृषक समूहलाई अनुदान रकम सहयोग गरेपछि यहाँका महिलाले सामूहिक तरकारीखेती गर्न थालेका हुन् । कृषि र पर्यटन विकासको नारा बोकेको वडा कार्यालयले तरकारी खेतीका लागि वडामा गठन भएका सात महिला कृषक समूहलाई अनुदान रकम उपलब्ध गराएको वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“वडालाई नमूना तरकारीको पकेट क्षेत्रका रुपमा चिनाउन व्यक्तिगत तथा सामूहिक रुपमा कृषकलाई वडा कार्यालयबाट आर्थिक सहयोग गरेका छौँ,” उहाँले भन्नुभयो । कार्यालयले राधाकृष्ण तरकारी उत्पादन समूहलाई रु पाँच हजार, कँडेलबारी महिला कृषक समूहलाई रु २५ हजार, कालिआँप मनकामना महिला कृषक समूहलाई रु २५ हजार, तालपोखरा महिला कृषक समूहलाई रु २५ हजार, नदी किनारा आयआर्जन महिला कृषक समूहलाई रु २५ हजार, आत्मनिर्भर महिला तरकारी उत्पादन समूहलाई रु २५ हजार र मिलिजुली महिला कृषक समूहलाई रु पाँच हजार सहयोग गरेको छ ।

वडा कार्यालयले व्यावसायिक तरकारीखेती गर्न रु पाँच हजार अनुदान रकम उपलब्ध गराएपछि सामूहिक रुपमा आलुखेती गरेको राधाकृष्ण तरकारी उत्पादन समूहका अध्यक्ष लोकमाया कुमालले बताउनुभयो । समूहले तीन रोपनी क्षेत्रफलमा छ क्विन्टल आलु लगाएको छ । कृषि व्यवसायतर्फ आकर्षित गर्न कृषकलाई अनुदान उपलब्ध गराएपछि व्यवसाय गर्न हौसला मिलेको कँडेलबारी महिला कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो ।

“वडा कार्यालयले सुस्ताएका कृषकलाई ब्यूँताउने कोसिस गरेको छ, हाम्रो समूहलाई पनि रु २५ हजार सहयोग गरेपछि समूहमा आवद्ध महिलाको कृषि व्यवसायमा आकर्षण बढ्दो छ,”उहाँले भन्नुभयो । सामूहिक रुपमा तीन रोपनी क्षेत्रफलमा बन्दाखेती गरेको उहाँले बताउनुभयो । कालिआँप मनकामना महिला कृषक समूहले पनि वडा कार्यालयबाट रु २५ हजार अनुदान पाएपछि दुई रोपनी क्षेत्रफलमा चौमासे सिमिखेती शुरु गरेको छ । सामूहिक खेती गर्न वडा कार्यालयले अनुदानवापत रु २५ हजार उपलब्ध गराएपछि चौमासे सिमि लगाएको समूहका अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो ।

वडा कार्यालयले वडामा गठन भएको जनजागृति कृषक समूहलाई भोजभतेरका लागि भाँडाकुँडा खरीद गर्न रु एक लाख सहयोग गरेको छ । वडाले ३४ अगुवा कृषकलाई रु एक लाख बराबरको रासायनिक मल र दानासमेत वितरण गरेको छ । उक्त वडामा अहिले तरकारी खेती गर्ने कृषकको आकर्षण ह्वात्तै बढेको छ । रामपुर नगरपालिकाका दश वडामध्ये वडा नं– ६ ले नगरपालिकामै नमूना कार्य गरिरहेको छ । वडा कार्यालयको सहयोगकै कारण विदेशिएका युवादेखि महिला, राजनीतिज्ञ र वृद्धवृद्धासमेत व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सुशीला रेग्मी, रासस

प्रतिक्रिया