काठमाडौं, ९ पुस: खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै दुविधा नभए पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तरक्रियामा उहाँले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने जानाकारी गराउनुभयो ।
ठेकेदार कम्पनीसँग काम गर्न सरकारले विश्वासको आधार खोजिरहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिनुयभो । मन्त्री मगरले मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार संवेदनशील भएर लागेको बताउनुभयो ।
कार्यक्रममा उहाँले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजना समेटेर योजना बुक तयार गरेको जानकारी दिनुभयो । घण्टौँ घण्टासम्म पानीका लागि हिँड्नुपर्ने समस्याको हल गर्न थप योजना ल्याउन लागिएको उहाँले बताउनुभयो ।
-रासस