राम्री बस दुर्घटना : घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै

admin

काठमाडौँ, ८ पुस : शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको दुर्घटनाका घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई शनिवार यहाँ ल्याइएको थियो । उनीहरुमध्ये पनि छ जना फर्किएको र छ जनाको उपचार भइरहेको प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेलका प्रमुख स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

तीन जनाको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको छ । दुई जनाको आज शल्यक्रिया भएको छ । एक जना अझै होसमा आइनसकेको उहाँले बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले घाइतेको अवस्था बुझ्नका लागि आज काठमाडौँ आउनुभएको रेग्मीले जानकारी दिनुभयो । उपचार खर्च नेपाल सरकारले गरिरहेको बताइएको छ ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डमा ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए । घाइतेको प्रारम्भिक उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भएको थियो । थप उपचारका लागि घाइतेलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको हो ।
-रासस

प्रतिक्रिया