काठमाडौँ, ९ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुने स्पष्ट पार्नुभएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले भन्नुभयो, “बैठकमा नेता बामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गर्नुभएको हो, उहाँका पीडाहरु छन्, असन्तुष्टिहरु छन्, त्यो भनेको त भावनाको कुरा हो, त्यसलाई सम्बोधन गर्नुपर्छ ।” पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको बताउँदै उहाँले भन्नुभयो, “कम्तीमा पनि २० मिनेटको पर्याप्त समय लिएर हामी नेताहरुले आ–आफ्नो कुरा राख्यौँ, यो बैठकसँगै हामी अब सम्भावना पहिल्याउन र चुनौतीहरु सामना गर्न सफल भएका छौँ ।”
नेपाली काङ्ग्रेसका नेता एनपी साउदले काङ्ग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताउनुभयो । नेता साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरी एकताको सन्देश दिएको पनि दाबी गर्नुभयो ।
-रासस