अध्यक्षद्धय ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ : गजुरेल

शर्मिला गुरुङ

काठमाडौं, १० पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ ।’ उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे । उनले भने,‘वामदेवजीको सुझावमा पीडाहरु छन् । असन्तुष्टिहरु छन्। त्यो भनेको त भावनाको कुरा हो । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको सुनाए । उनले भने,‘कम्तिमा पनि २० मिनेटको पर्याप्त समय लिएर हामी नेताहरुले आ–आफ्नो कुरा राख्यौं । हामीले आफ्ना कुराहरु खुलेर राखेका छौं। यो बैठकसँगै हामी अब सम्भावना पहिल्याउन र चूनौतिहरु सामना गर्न सफल भएका छौं ।’
उनले अब पार्टी एकताबद्ध भएर अघि बढनेपनि विश्वास दिलाए । स्थायी समिति बैठकमा मन्त्रीहरु फिर्ता बोलाउने भन्नेबारे पनि नेताहरुले आवाज उठाउनुभएको थियो अरे नि भनेर सोधेको प्रश्नमा उनले भने,‘सरकारलाई सफल बनाउनुपर्छ । प्रधानमन्त्रीलाई काम गर्नको लागि आरामदायी वातावरण बनाउनुपर्छ भन्ने कुरा आएका छन् । यो उहाँले निर्णय गर्ने कुरा हो ।’

फरक प्रसँगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाए । उनले आक्रोश पोखे,‘कांग्रेसलाई उल्टो बुद्धि आएको छ । राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ । विपीको छोराले हिन्दूराष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाईदिएको छ ।’ उनले हिन्दूराष्ट्रको कुरा उठाएकोमा कांग्रेसलाई प्रश्न गर्दै भने,‘फेरी २०१७ सालको वातावरण बनाउन खोजेको हो ?’

काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिटमा सरकारले भाग लिएर गलत गरेको भनेर बाहिर आलोचना भएकोप्रति टिप्पणी गर्दै उनले भने,‘कम्युनिष्ट सरकार गठन भएकोमा धेरैलाई चित्त बुझेको छैन, त्यही भएर सरकारको आलोचना भैरहेको छ ।’ उनले एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको पनि जिकिर गरे । यद्धपी उनले यसमा सरकार सहभागी हुनुहुन्थ्यो कि हुँदैनथ्यो भन्नेबारे अहिलेपनि पार्टीमा छलफल जारी रहेको सुनाए ।

गजुरेलले एशिया प्यासिफिक समिटबारे सरकारलाई बढाईचढाई गरेर आरोप लगाउने काम नियोजित रुपमा भएपनि पनि बताए । पार्टीसँग सल्लाह नगरी सरकार चलेको भन्ने गुनासो पनि नेताहरुले गरेको उल्लेख गर्दै उनले यसबारेमापनि बैठकमा पर्याप्त छलफल भएको जनाए ।
उनले भने,‘सरकारले राम्रो काम गरोस भन्ने साथीहरुको चाहना हो । अहिलेपनि राम्रो काम गरेको छ । योभन्दापनि राम्रो गर्नुपर्छ भन्ने नै हो । पार्टीले सल्लाह दिने तर अन्तिममा निर्णय त प्रधानमन्त्रीले नै गर्नेगरि अघि बढ्नुपर्छ भन्ने छलफल भएको छ ।’ सरकारको कामकारवाही प्रभावकारिता भएन भनेर जनताको स्तरबाट गुनासा आउनुलाई आफूहरुले गम्भिर रुपमा लिएको पनि उनले स्पष्ट पारे ।

उनले नेपालम भ्रष्टाचार ठूलो समस्या रहेको सुनाउँदै यसलाई रोक्नको लागि सरकार र सबै राजनीतिक दलहरुले गम्भिर कदम चाल्नुपर्ने सुझाव दिए । त्यस्तै उनले भाषण बढि भएको तर काम नहुँदा देश गरिब भएको पनि सुनाए । उनले भने,‘अब सबै पार्टीका नेताहरु पारदर्शी भएर चल्नुपर्छ ।’
आफूले स्थायी समिति बैठकमा यसबारेमा लिखित रुपमै सुझाव राखेको पनि उनले सुनाए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारेपनि पार्टीमा गम्भिर रुपमा छलफल भएको उनको भनाई छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालै अमेरिका भ्रमण गरेको र अमेरिकाले नेपालमा स्थायी सरकार आएकोले विशेष महत्व दिएको उनले स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्धपी उनले कांग्रेसले हिन्दूराष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।
साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहाँसिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि दाबी गरेका छन् । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भिर प्रश्न उठेको पनि उनले सुनाए । उनले भने,‘आधाभन्दा बढि सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ ।’
सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आँफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको गम्भिर आरोप लगाए । उनले भने,‘कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आँफै सहभागी भएकोबारे हाम्रो पार्टीभित्र समिक्षा भएको छ । कांग्रेसले सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भिर कदमको संज्ञा दिएको छ ।’ पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे ।

साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि जनाए । उनले भने,‘सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको छ । यो जघन्य कुरा हो ।’ पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेकोपनि उनले खतरा औंल्याए ।

फरक प्रसँगमा उनले वर्तमान सरकारले एउटापनि राम्रो काम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘सुशासनको ठाउँमा कुशासन दिएको छ । होली वाईन पिउने काम गरेको छ । वाईडबडी जहाज प्रकरण हेर्नुहोस् । नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको छ ।’
साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन बितिसक्दापनि अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति कडा आक्रोश पोखे ।

उनले भने,‘एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ । तर, सरकारले घट्नाको अनुशन्धानबारे लापरवाही गरिरहेको छ । नक्कली मान्छे खडा गरेको छ । वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन् ।’ उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्ने पनि जनाए ।

प्रतिक्रिया