अभिनेता अनिल कपुर पहिलो पटक छोरीसँग एउटै फिल्ममा, जन्मदिनमा शेयर गरे खास जानकारी

रिता घिसिंग

एजेन्सी : सोमबार बलिउड स्टार अनिल कपुरले ६२ औं जन्मदिन मनाएका छन् । यही अवसरमा उनले आफ्नो आगामी फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को पोस्टर शेयर गरेका छन् । यो फिल्ममा अनिल पहिलो पटक छोरी सोनम कपुरसँग एउटै फिल्ममा देखिँदैछन् । पोस्टरमा अनिल छोरी सोनमलाई अंकमाल गरिरहेका देखिएका छन् । फिल्ममा पनि अनिल र सोनम बाबुछोरीकै भूमिकामा हुनेछन् ।

फिल्मको पोस्टर अनिल कपुरले आफ्नै ट्वीटरमा शेयर गरेका हुन् । फोटो शेयर गर्दै अनिलले आफू पोस्टर सार्वजनिक गर्दा निकै उत्साहित भएको लेखेका छन् । आफ्नो जन्मदिनको अवसरमा छोरी सोनमसँग यो यात्रा सुरु गर्दा आफूलाई सम्मानित महसुस भएको उनले लेखेका छन् । अनिलले अगाडि लेखेका छन् ‘फिल्मको ट्रेलर २७ डिसेम्बरमा रिलिज गरिनेछ ।’ फिल्मको टिजर यही वर्षको जूनमा रिलिज गरिएको थियो ।

फिल्ममा अनिल र सोनमका अलावा राजकुमार राव, रेजिना र जूही चावला पनि हुनेछन् । फिल्मको शीर्षक १९९४ मा रिलिज भएको अनिल कपुरको फिल्म ‘१९४२ः अ लभस्टोरी’को एक गीतबाट लिइएको हो । शैली चोपडा धारको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् । फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू