भारतमा नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु प्रहार गरि हत्या

रिता घिसिंग

एजेन्सी : भारतको छत्तीसगढमा मजदूरी गर्न गएका एक नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु हानी हत्या गरिएको छ । छत्तीसगढको रायपुरको गुढियारी थाना क्षेत्रमा नेपाली युवक कृष्ण नेपालीको दिउँसै २० पटक चक्कु प्रहार गरी हत्या गरिएको हो । हत्याको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको भारतीय दैनिक जागरणले लेखेको छ ।

शुक्रबार दिउँसो आक्रमण गरी फरार भएका आक्रमणकारीहरुलाई क्राइम ब्रान्च र पुलिसको टोलीले सोही दिन राती पक्राउ गरेको हो । हत्याको पछाडि जुवाको रकमको लेनदेनको विवाद रहेको बताइएको छ । कृष्णको नेपालीको स्पष्ट ठेगाना खुलिसकेको छैन । उनी २ महिनाअगाडि कामको खोजीमा रायपुर पुगेको समाचारमा उल्लेख छ । उनी शुक्रबार काममा जानको लागि कोठाबाट निस्केका थिए । डेराबाट निस्केर उनी केही पर पुग्दा पछाडिबाट मोटरसाइकलमा सवार ४ युवक पुगेका थिए । चारैजनाको हातमा हतियार थिए । उनीहरुले केही नबोली कृष्णमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कृष्णमाथि आक्रमण भएपछि नजिकै रहेका एक युवक सोनु मेश्रामले कृष्णलाई बचाउने कोसिस गरे । सोनु अगाडि बढेपछि आक्रमणकारीहरु फरार भए । सोनुले गम्भीर घाइते कृष्णालाई अस्पताल लिएर गएका थिए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । प्रहरीका अनुसार आक्रमण गर्ने युवकहरु स्थानीय थिए र कृष्णका साथीहरु नै थिए । जुवाको रकमलाई लिएर तीन दिन पहिले साथीहरुसँग विवाद भएको प्रहरीले जनाएको छ । यही विवादका कारण उनका साथीहरुले योजना बनाएर उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरु स्थानीय विकास वर्मा, रुपेश वर्मा, मोनु कोरथे र करण राठोर भएको बताइएको छ ।

प्रतिक्रिया