‘समृद्धिका लागि नागरिक स्वस्थ हुनु जरुरी’ :मन्त्री गिरि

admin

रुपन्देही, १० पुस : प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरिले नागरिक स्वस्थ नभएसम्म प्रदेशको समृद्धि सम्भव नभएको बताउनुभएको छ । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको छैटौँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहलाइ सम्बोधन गर्दै उहाँले नागरिकको स्वस्थ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवामा सबैको सहज पहुँच हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समृद्धि जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थी र कृष्ण न्यौपानेले मुटु अस्पताललाई देशकै नमूना अस्पतालका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमीरेले अस्पतालको स्थायी व्यवस्थापनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो ।

अध्यक्ष एजाज आलमले मुटु अस्पताल अन्य सरकारी र निजी अस्पतालको प्रतिस्पर्धी नभएको उल्लेख गर्दै समुदायको हितमा स्थापित संस्था भएको बताउनुभयो । उहाँले गरीब तथा असहाय बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट कार्य गरी अस्पतालको विकासमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमलगायत कर्मचारीलाई सम्मान गरिएको थियो ।
-रासस

प्रतिक्रिया