चितवन, १० पुस : प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठमाडाँैमा उपचारका सिलसिलामा आज बिहान उहाँको निधन भएको हो । हृदयाघात भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उहाँको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्ठि गरिएको छ । यस अघि उहाँको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गर्नुभएको थियो ।
अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा पर्नुभएको थियो । रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ–सर्नुभएको थियो । उदयनाथ काङ्ग्रेस चितवनका संस्थापक नेता हुनुहुन्थ्यो ।
रघुनाथका एक छोरा र एक छोरी हुनुहुन्छ । खैरहनी नगरपालिका–५ को वडाध्यक्ष बनेका अर्का छोरा नरेन्द्र अधिकारीको सवारी दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो । नेपाली काङ्ग्रेस चितवनका सभापति श्रेष्ठले उहाँको निधनमा बुधबार मातहतका कार्यालय बन्द गरिने र तीन दिनसम्म झण्डा झुकायर औपचारिक कार्यक्रम नगर्ने बताउनुभयो । उहाँको निधनले सिङ्गो पार्टीमा अपुरणीय क्षती पुगेको श्रेष्ठले बताउनुभयो ।
-रासस