विकास र समृद्धिका लागि प्रदेश सरकार गम्भीर : मन्त्री सोनल

admin

वीरगञ्ज, १० पुस: प्रदेश नं २, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकार बीचमा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । आर्थिक पत्रकार सङ्घ नेपाल पर्साद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं २ को आर्थिक विकासको सम्भावना र चुनौती’ विषयक छलफलमा उहाँले भन्नुभयो, “प्रदेश नं २ को विकास र समृद्धिका लागि सरकारले यस प्रदेशका आठ जिल्लाको १३६ स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको छ ।”

मन्त्री सोनलले वीरगञ्जमा प्रदेशस्तरको पुस्तकालय स्थापना गर्ने उल्लेख गर्दै सिमराबाट पोखरा तथा भारतको उत्तर प्रदेश, विहार र दक्षिण भारतलाईसमेत हवाई मार्गसँग जोड्न सके यस क्षेत्रको धार्मिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सप्तरीको सखडा भगवती, जनकपुरको जानकी मन्दिर, बाराको गढीमाई र पर्साको गहवा माईलाई जोडेर धार्मिक सर्किटको विकास गर्नेतर्फ गृहकार्य भइरहेको उल्लेख गर्दै उहाँले कृषि र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार तत्पर रहेको धारणा व्यक्त गर्नुभयो ।

आर्थिक पत्रकार सङ्घ नेपाल पर्साका सभापति रितेश त्रिपाठीको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योगपति अशोक टेमानी र प्रदीप केडियाले कर्णाली प्रदेशभन्दा पनि पछि परेका प्रदेश नं २ को आर्थिक विकास र समृद्धिका लागि भौतिक पूर्वाधारको विकासमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी ओमप्रकाश खनालले प्रदेश नं २ को विकासका सम्भावना र चुनौती विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया