‘सरकार अझै सशक्त’ : प्रवक्ता श्रेष्ठ

admin

पोखरा, १० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताउनुभयो ।

साङ्गठनिक एकिकरणका बाँकी कामलाई सम्पन्न गर्दै पार्टीलाई अझै सशक्त बनाउने, पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सम्बन्धमा छलफल भैसकेको उहाँले जानकारी गराउनुभयो ।

बैठकमा उठेका विषयमा दुवै अध्यक्षले कुरा राखिसकेपछि उपयुक्त निष्कर्ष तय गरिने उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विदेशी राष्ट्रसँगको सम्बन्ध विस्तारका साथै दुवै छिमेकी राष्ट्रसँग समनिकटताका आधारमा अघि बढ्ने जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले हालै सम्पन्न अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट केही महत्वपूर्ण सकारात्मक निर्णय गर्दै सङ्घीयता कार्यान्वयनलाई अघि बढाउन ठोस निर्णय गरिएको बताउनुभयो । जन अपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको उहाँको भनाइ छ ।
-रासस

प्रतिक्रिया