राष्ट्रिय हकी टिम सम्मानित

शर्मिला गुरुङ

भीमदत्तनगर, ११ पुस : अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ ।

हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् । राउण्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले अफगानिस्तानलाई ४–० गोलले पराजित गरी कास्य पदक जितेको हकी प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो ।

पुस पहिलो साता भएको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानले हात पारेको थियो । पाँच राष्ट्र सहभागी सो प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको प्रशिक्षक थापा बताउनुहुन्छ । अठार सदस्यीय हकी टिममा आठ खेलाडी भीमदत्तनगरकै रहेको कञ्चनपुरका हकी प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिनुभयो । “यो उपलब्धी हकीका लागि ऐतिहासिक हो,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया