‘ए’ डिभिजन लिग : जावलाखेलको तेस्रो जीत

admin

काठमाडौँ, ११ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले जीत हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जावलाखेलले जारी लिगमा तेस्रो जीत निकालेको हो । जावलाखेललाई जीत दिलाउन अरुज सिंह र फोडे फोनानाले एक–एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई शुरुआती अग्रता दिलाए । मच्छिन्द्रका अञ्जन देवकोटाले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा अरुजले गोल गरेका थिए ।

यस्तै खेलको ६५औँ मिनेटमा फोनानाले सुमन डङ्गोलको पासमा गोल गर्दै जावलाखेललाई २–० को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा मच्छिन्द्रका आडेमोलाले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।

खेलमा जावलाखेलका अरुज ‘म्यान अफ दी’ म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै जावलाखेलले एघार खेलबाट तीनमा जीत, दुईमा बाराबरी तथा छ वटामा पराजित हुँदै ११ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ । पराजित मच्छिन्द्र छ अङ्कका साथ लिगकोे १२औँ स्थानमा छ ।
-(रासस)

प्रतिक्रिया