विषादीरहित तरकारी खेती अभियान

रिता घिसिंग

नेपालगञ्ज, १२ पुस : तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि सो वडा कार्यालयले विषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकलाई तालीम शुरु गरेको हो । वडाध्यक्ष कान्तुराम गौतमले वडा क्षेत्रका किसानलाई विषादी प्रयोग नगरेरै तरकारी उत्पादन गर्न सकिने विधि तथा प्रविधिका विषयमा जानकारी गराउने बताउनुभयो ।

तालीममा सहभागी बनाइएका किसानलाई रासायनिक विषादीको सट्टा जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्ने वैज्ञानिक प्रविधि सिकाइएको छ । ‘जैविक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी अलि महँगो तर सहजै बिक्री हुन्छ र यो स्वास्थ्य र वातावरणीय पक्षमा पनि उपयुक्त हुन्छ,’ प्रशिक्षक पद्म खड्काले भन्नुभयो ।

बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि

बाँकेको डुडुवा गाउँपालिका–.५ कम्दीमा बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको बाख्राको रगतको ल्याब परीक्षणबाट पिपिआर भएको पुष्टि भएको हो ।

रोग पुष्टि भएपछि बाख्राको उपचार शुरु गरिएको गाउँपालिका पशु स्वास्थ्य शाखाप्रमुख अशोक पाण्डेले बताउनुभयो । सो रोगबाट प्रभावित करीब १०० भन्दा बढी बाख्राको अहिले उपचार भइरहेको छ भने गाउँपालिका क्षेत्रमा रहेका करीब १५ हजार बाख्रालाई त्यस रोगविरुद्ध खोपसमेत दिन शुरु गरिएको शाखाप्रमुख पाण्डेले बताउनुभयो । एक महीनाअघि बाख्रामा लागेको सो रोगबाट करीब ५० भन्दा बढी बाख्रा मरेका थिए ।।
–रासस

प्रतिक्रिया