राससलाई अझ विश्वसनीय र उत्तरदायी बनाइने : श्यामल

रिता घिसिंग

तुलसीपुर, १२ पुस : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई समयानुकूल विकास गर्दै लैजाने बताउनुभएको छ ।

आज रासस दाङ तुलसीपुर कार्यालयको निरीक्षणपछि आयोजित अन्तक्र्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले राससलाई सबैले परम्परागत दृष्टिकोणले हेर्ने गरेको भन्दै त्यसलाई रुपान्तरण गर्दै सूचनाको हकलाई सम्बद्र्धन गर्ने काममा रासस अगाडि बढेको बताउनुभयो । रासस राष्ट्रको समाचार संस्था भएको भन्दै यसको अपनत्व राजनीतिक दल तथा सबैले लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

“हामीहरुले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने काम गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले राससले सबै राजनीतिक दलले सञ्चालन गरेका क्रियाकलाप, विकास निर्माण र स्थानीय तहले गरेका गतिविधि, नीति निर्माणलगायतका समाचार प्रकाशन प्रसारण गर्ने गरेको उल्लेख गर्नुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै लगेको भन्दै राससलाई विश्वसनीय बनाउन लागेको बताउनुभयो । सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले हालसम्म भएको भौतिक निर्माणको प्रगति र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य जगप्रसाद शर्मा, रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, नेपाल राष्ट्रिय रासस कर्मचारी सङ्गठनका अध्यक्ष प्रेम उपाध्याय, रासस कर्मचारी सङ्गठनका उपाध्यक्ष मधुसुदन अर्याल, समाचारदाता प्रकाश सिलवाल, ज्येष्ठ नागरिक खुमानन्द अधिकारीको सहभागिता रहेको थियो ।
–रासस

प्रतिक्रिया