रेडपाण्डाको छाला ओसारपसारमा संलग्न व्यक्ति जेल चलान

admin

काठमाडौँ, १२ पुस : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् । अदालतले दोषी ठहर गरी फरार हुँदै आएका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ का सन्तोषकुमार तामाङलाई आज केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसार–पसार तथा बिक्री वितरण मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर गरेको थियो । फरार हुँदै आएका तामाङलाई ब्यूरोको विशेष टोलीले बुधबार नुवाकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशले उनलाई आजै कारागार चलान गरिएको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । प्रहरीले विसं २०७४ भदौ १९ गते काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैंजुबाट उनले चलाएको बा ३४ प ६६८१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा रेडपाण्डाको छाला बरामद गरेको थियो । अदालतबाट माग भएको धरौटीबापत जेथा जमानी राखी तारेखमा छाडिएका उनी अदालतको फैसलापछि फरार हुँदै आएका थिए ।
-रासस

प्रतिक्रिया