सौराहामा हात्तीको वनभोज

admin

चितवन, १२ पुस: सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो ।

महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले भन्नुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उहाँले बताउनुभयो ।

हात्ती महोत्सवका अवसरमा युनाइटेड हात्ती सहकारी संस्था, ह्याप्पी हाउस, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई वनभोज खुवाइएको हो । हात्ती महोत्सवको अवसरमा सौराहामा हात्तीका छावाबीच फुटबल, हात्ती पोलो, हात्ती दौड, हात्ती शृङ्गारलगायतका विविध कार्यक्रम गरिँदैछन् । महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।
-रासस

प्रतिक्रिया