टोलटोलमै पुगेर योजना सम्झौता

admin

बलेवा, १३ पुस : बागलुङको वडिगाड गाउँपालिकाले गाउँगाउँमै पुगेर योजना सम्झौताको काम थालेको छ । गाउँपालिकाबाट खटाइएका कर्मचारी टोलीले समयमै काम सक्न सम्बन्धित योजना सञ्चालन हुने क्षेत्रमा टोल भेला गरेर उपभोक्ता समिति गठन र योजना सम्झौता गर्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो ।

यस वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाको सम्झौता उपभोक्ताको घरदैलोमै पुगेर गर्ने र कामको थालनी गर्न उपभोक्ता समितिलाई उत्प्रेरणा प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । सर्वसाधारणको सहजताका लागि टोलटोलमा पुगेर भेला गर्ने, योजनाको विषयमा जानकारी गराउने र उपभोक्ता समिति गठन गर्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ थियो ।

गाउँगाउँमा पुगेका कर्मचारी टोलीले अभिमुखीकरण गोष्ठीमार्फत काम गर्दा ध्यान पु¥याउनुपर्ने कुरा र गाउँपालिकाबाट भुक्तानी लिने बेलासम्म पु¥याउनुपर्ने प्रक्रियाका विषयमा समेत जानकारी गराउने गरेको छ । “कार्यालयबाट योजना सम्झौता गर्दा सबै कुरा उपभोक्ता समितिलाई जानकारी नहुन सक्छ”, उहाँले भन्नुभयो, “गाउँमै पुगेर भेला गरेर जानकारी गराउँदा सबैलाई योजनाको विषयमा जानकारी हुने भएकाले यसो गरेका हौँ ।”

प्रमुख प्रशासकीय अधिकृतसहित योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख, सम्बन्धित वडाका प्राविधिक र वडा सचिवसहितको टोलीले बिना भत्ता नै गाउँगाउँमा पुगेर अभिमुखीकरण चलाइरहेको छ । “गाउँमै पुगेर योजना सम्झौता गर्दा कतैकतै भत्ताको विषयमा शङ्का उब्जेको पनि हामीले सुनेका छौँ”, उहाँले भन्नुभयोे, “बिहान आफ्नै घरमा खाना खाएर कार्यालय समयमा गाउँ पुगेर साँझ घर फर्किने गरेका छौँ, हामीले खाएको तलबकै भरमा जनतालाई सुविधा उपलब्ध गराउनु हाम्रो दायित्व हो ।”

वर्षेनी फेरिने उपभोक्ता समितिका कारण अभिमुखीकरण अनिवार्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । चार सयभन्दा धेरै योजना बनाएर काम थालेको गाउँपालिकाले पुसको दोस्रो सातासम्म २५० भन्दा बढी योजनाको सम्झौता गरेको छ । उपभोक्ता समितिमार्फत गरिने कामका लागि योजना सम्झौतालाई तीव्र बनाइएको छ । पुस अन्तिम सातासम्म उपभोक्ता समितिको गठन, योजना सम्झौता र अभिमुखीकरणको काम सकेर निर्माणको काम थाल्ने योजना गाउँपालिकाले बनाएको छ ।

आगामी जेठको पहिलो सातासम्म सबै काम सकेर फरफारकको काम थाल्ने कार्यतालीका रहेको गाउँपालिकाले जनाएको छ । भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाले विभिन्न विषयगत कार्यालयमार्फत सञ्चालन हुने योजनाका लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

यो वर्ष झण्डै रु दुई करोड ५० लाख बजेट विनियोजन गरेर कृषि उत्पादन वृद्धि गर्ने योजनामा गाउँपालिका लागेको छ । ‘एक वडा एक उत्पादन’ नीति बनाएर काम शुरु गरिएको गाउँपालिकाले किसानले प्रतिफल लिनेखालका कार्यक्रम तय गरेर योजना सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । गाउँमै पुगेर योजना सम्झौता गर्दा उपभोक्तामा उत्साह देखिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।

“सबै काम सकेर उपभोक्ताको माझमा जान अलि ढिला भयो, ढिलो आउनुभयो भन्ने गुनासो छ”, पाइजाले भन्नुभयो, “गाउँ पुगेर योजना सम्झौता गर्दा उपभोक्ता खुशी छन् ।” कर्मचारी टोलीले गाउँमै सबै काम गर्ने भएकाले बैंकमा खाता खोल्नेबाहेकका गाउँपालिकाको मुकाम जान नपर्ने सबै काम यही हुन्छन् ।

प्रतिक्रिया