राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

शर्मिला गुरुङ

राजविराज, १३ पुस : सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो ।

जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७ पुरुष र १८ महिला गरी कूल ३१५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको छ ।

यति सङ्ख्यामा कारागारमा कैदीबन्दी राखेका कारण पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको उहीहरुको गुनासो रहेको छ । विसं २००८ मा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।

माटो र ढुङ्गाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कने खतरासमेत रहेको जेलर यादवले बताउनुभयो । राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महीनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् ।

कारागारको नाममा रहेको पाँच बिघाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कठ्ठा जग्गा अतिक्रमणमा परेको उहाँको भनाइ छ ।

चोरीको आरोपमा दुई पक्राउ

सप्तरी प्रहरीले चोरी गरेको आरोपमा नगदसहित दई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । शम्भनाथ नगरपालिका–४ निवासी विनोदकुमार दासको घरमा चोरी गरेको अभियोगमा सोही स्थानका २५ वर्षीय जितेन सदा र २४ वर्षीय शिवकमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

चोरी गरी लुकाइछिपाइ राखेको रु ४० हजार नगद, एक थान चाँदीको सिक्री, एक थान सोनी कम्पनीको एलएडी टिभी, एक थान लुगा सिउने मेसिन र एउटा आइरन बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया