बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित

रिता घिसिंग

फिदिम, १२ पुस : खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो ।

सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकाल्ने योजना अघि बढेको हो । निगालेबाट पनि आगामी एक हप्ताभित्र नियमित रुपमा खानेपानी निकाल्न थालिने डिप बोरिङ खानेपानी उपभोक्ता समिति कुम्मायकका अध्यक्ष अमरसिंह थापाले जानकारी दिनुभयो ।

बोरिङबाट निकालिएको खानेपानी निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट वितरण हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । जसबाट कुम्मायक गाउँपालिका– १, ४ र ५ का झण्डै दुई हजार ५०० घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न लागिएको बताउनुभयो ।

खानेपानी समस्या तत्कालीन रुपमा हल गर्ने उद्देश्यले गत हप्ताबाट डिप बोरिङ प्रविधिको परीक्षण शुरु भएको थियो । बिहीबारबाट पानी निकालिए पनि ल्याब परीक्षणपछि मात्रै खानयोग्य हुने उपभोक्ता समितिका सचिव खेम निरौलाले बताउनुभयो ।

“ल्याब परीक्षणको नतिजापछि मात्रै खानेपानी पिउन उपभोक्तालाई आग्रह गरेका छौँ” निरौलाले भन्नुभयो “तर, खानेपानीको अभावमा रहेका उपभोक्ताले, विहीबारबाट प्रयोग थाल्नुभएको छ ।” कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा स्थानीयवासीलाई खानेपानी बिक्री गर्दै आएको छ ।

यसअघि स्थानीय व्यवसायिले प्रतिलिटर दुई रुपैँयामा खाने पानी बिक्री गर्दै आएका थिए । “किनेर खानेपानी पिउँदै आएका उपभोक्ताले आफ्नै घर छेउ स्वच्छ खानेपानी भेटेपछि प्रयोग गर्नबाट रोक्ने कुरा भएन्” निरौलाले भन्नुभयो ।

डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने क्रममा केही घण्टा लेदो र खिया सहितको पानी निस्किए पनि केही समय पछिबाट स्वच्छ र सङ्लो पानी निस्किएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको अभाव छ । यी क्षेत्रमा खानेपानीको अभाव हुँदा बसाइसराइको क्रम उच्च बनेको छ ।

खानेपानी समस्या समाधान गर्न रु ५१ करोड लागतमा उक्त क्षेत्रमा विगत दुई वर्ष अघिबाट तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । समयमै उक्त आयोजना सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नु परेपछि प्रदेश नं १ सरकारले समस्याको तत्कालीन समाधानका लागि डिप बोरिङ प्रविधिबाट खानेपानीको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको उक्त क्षेत्रबाटै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको भनाइ छ । –रासस

प्रतिक्रिया