गाउँमा सरकार नभेटिएको सांसदको गुनासो

रिता घिसिंग

काठमाडौँ, १३ पुस : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गर्नुभएको छ ।

विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै उहाँहरुले ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा आपत्ति जनाउनुभयो ।

सांसद गोपालबहादुर बमले विगतमा योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा परेकाले तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु क्रसिङ शुरु गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “सो करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । बजेट कहाँ गयो खोजी गरिपाउँ ।”

यस्तै केही सांसदले विकास निर्माणको कामको जिम्मा लिएका निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गर्नुभयो । यसरी माग गर्ने सांसदहरुमा आशाकुमारी विक, गङ्गा चौधरी सत्गौवा, छविलाल विकलगायत हुनुहुन्थ्यो ।
–रासस

प्रतिक्रिया