मुलुकीसंहिता सम्बन्धी दुई विधेयक स्वीकृत

रिता घिसिंग

काठमाडौँ, १३ पुस : प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सो विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय प्रेम सुवाल र कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयकको सैद्धान्तिक पक्षमा सांसद गगन थापा, प्रेम सुवालले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएको जानकारी गराउनुभएको थियो । प्रतिनिधिको अर्को बैठक पुस १७ गते मङ्गलबार १२.०० बजे बस्नेछ ।
–रासस

प्रतिक्रिया