आगलागीबाट रु सात लाख क्षति

admin

राजविराज, १३ पुस: सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब सात लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित सूर्यनारायण चौधरीको राइस मिलमा आगलागी हुँदा निजको मिलमा रहेका काठको दाउरा र मेशिनहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

काठको दाउरा, मेशिन र केही फर्निचरका सरसमान जलेर करीब रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भने खुलेको छैन । यस्तै सप्तरी विष्णुपुर गाउँपालिका–७ मा आगलागी हँुदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी रामनारायण रामको एकतल्ले कच्ची घरमा अचानक विद्युत् तार सर्ट भई आगलागी हुँदा निजको एउटा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी रामले पालेका खसी, गाई र बाछा गरी तीन वटा चौपाया जलेर घाइते भएको प्रहरीले जनाएको छ । यसैबीच दुवै ठाउँको आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिप्रकाले जनाइएको छ ।
-रासस

प्रतिक्रिया