प्राकृतिक स्रोतसाधनको उपयोगबाट समृद्धि : मुख्यमन्त्री गुरुङ

admin

पोखरा, १३ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगबाट समृद्धि प्राप्त गर्न सकिने बताउनुभएको छ । रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)द्वारा फेवाताल किनारमा आयोजित २०औँ पोखरा सडक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन भएको उल्लेख गर्नुभयो । विभिन्न जातजाति, वेशभूषा एवं संस्कृतिको अनुपम थलोका रुपमा रहेको गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सङ्घीय सरकारलाई सिफारिश गरिएको उहाँले जानकारी दिनुभयो ।

सन् २०२० को अन्तिमसम्ममा पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई सडकसँग जोड्ने पृथ्वी र सिद्धार्थ राजमार्गको स्तरोन्नति कार्यलाई अगाडि बढाइएको बताउनुभयो । कोराला–पोखरा सडकखण्ड लगभग निर्माण भइसकेको बताउँदै उहाँले पोखरा त्रिवेणीधाम जोडने सडक निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा गत वर्ष आन्तरिक र बाह्य गरी कूल १० लाख पर्यटक भित्रिएका थिए । उहाँले आवश्यक भौतिक पूर्वाधार निर्माणसँगै सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने आधार तयार भइरहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले मेला महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै फेवातालको संरक्षणमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पोखरामा हुने मेला महत्वले सांस्कृतिक संरक्षण गर्नाका साथै आर्थिक गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ नाराका साथ डिहीको पाटनदेखि शहीदचोकसम्मको तीन किलोमिटर सडकमा आजदेखि पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुने रेवानका अध्यक्ष एवं महोत्सवका संयोजक भीमसेन भुजेलले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया