औषधिको गुणस्तर मानवमा परीक्षण गरिने

admin

काठमाडौँ, १३ पुस : नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो पटक बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्नेछ । मानवमा औषधिको गुणस्तर परीक्षणका लागि सोही केन्द्रले आवश्यक तालीम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने सहमति जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र संस्थानका डिन प्राडा जगदीश अग्रवालबीच सो सहमतिसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भयो । केन्द्र स्थापना गर्न विभागले चिकित्सा अध्ययन संस्थानलाई रु पाँच करोड सहयोग प्रदान गर्ने जनाइएको छ ।

चिकित्सा अध्ययन संस्थानका सहप्राध्यापक एवम् डिपार्टमेन्ट अफ फर्माकोलोजीका प्रमुख डा प्रदीप ज्ञवालीले औषधिको गुणस्तर मानवमा परीक्षण गरिने तयारी भएको जानकारी दिँदै जेनरिक औषधि परीक्षण हुनेछ भन्नुभयो । उहाँले यसबाट औषधिको गुणस्तर र प्रभावकारिता पत्ता लगाइने जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया