संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी छ : सिटौला

admin

काठमाडौँ, १३ पुस: नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको बताउनुभयो । “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”,उहाँले भन्नुभयो ।

नेता सिटौलाले काङ्ग्रेसले यसअघि धेरै समय सत्ता चलाएको छ भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताउनुभयो । नेपालको राजनीतिमा स्वाधीनता र स्वाभिमान कमजोर हुँदै गएको उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेस नयाँ सोच र विचारका साथ अगाडि बढे मात्र विपीको सपना पूरा हुने बताउनुभयो । “नेविसङ्घभित्र पार्टीका नेताको हस्तक्षेप राम्रो भएन,” उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य गगनकुमार थापाले प्रजातन्त्र, राष्ट्रियता र सामाजिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइराला भएको बताउनुभयो । “काङ्ग्रेसका लागि पथप्रदर्शकका रुपमा रहनुभएका बिपी कोइरालालाई नबुझी काङ्ग्रेस बुझ्न सकिँदैन”,उहाँले भन्नुभयो । सरकारको गलत कुराका लागि नेविसंघले अहिंसात्मक आन्दोलन गर्नु जरुरी रहेको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य उमाकान्त चौधरीले दुई तिहाइको बहुमत भएको सरकारले जनताको भावनानुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले नेविसंघ बलियो भएमात्र काङ्ग्रेस बलियो हुने भन्दै बलियो काङ्ग्रेस निर्माणका लागि युवा लाग्नुपर्ने उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले काँग्रेसभित्रको गुट उपगुटलाई अन्त्य गरेर पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस नेता भीमसेनदास प्रधानले बिपी कोइरालाको पालामा युवाले पार्टी र सरकारको नेतृत्व गरेको भन्दै काङ्ग्रेस रुपान्तरणका लागि पार्टीभित्र युवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले लोकतन्त्रको रक्षाका लागि नेविसंघ एक भएर मैदानमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो । नेविसंघ प्रदेश नं ३ का संयोजक एवं नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठी, नेविसंघका नेता गणेश सापकोटालगायतले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताउनुभयो । विसं २०३३ पुस १६ गते काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताहरु राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरणमा काङ्ग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएका छन् ।
-रासस

प्रतिक्रिया