पत्रकार प्रवीण पौडेलको निधनप्रति प्रेस युनिययनद्वारा दुःख व्यक्त

शर्मिला गुरुङ

काठमाडौँ, १४ पुस : नेपाल प्रेस युनियनले पूर्वी चितवनको रत्ननगर–१ निपनीमा शुक्रबार भएको सडक दुर्घटनामा परी एपी–१ टेलिभिजनका पत्रकार प्रवीण पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक शोक वक्तव्य जारी गरी प्रेस युनियनका सदस्यसमेत रहनुभएका पौडेलको मृत्यु भएको घटनाप्रति शोक व्यक्त गरेको हो ।

“एक ऊर्जाशील र क्षमतावान श्रमजीवी पत्रकार अर्थात युनियनका होनहार एक सदस्य गुमाउनु पर्दा नेपाल प्रेस युनियनलाई अत्यन्तै ठूलो चोट पुग्न गएको छ”, शोक वक्तव्यमा भनिएको छ ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २ ख २१६६ नम्बरको ट्रकले सोही दिशातर्फ समाचार सङ्कलनका लागि जाँदै गर्दा पत्रकार पौडेलको ना ६१ प ९२१ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका पत्रकार पौडेललाई ट्रक चालकले जबरजस्ती पेलेर नियतवस हत्या गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनाका बारेमा स्थानीय प्रशासनले सत्यतत्य अनुसन्धान गरी दोषी चालकमाथि कारवाही गरी पीडित परिवारका लागि क्षतिपूर्ति दिलाउन युनियनले माग गरेको छ । रासस

प्रतिक्रिया