कालीकोटका अग्निपीडितलाई सहयोगको निर्णय

शर्मिला गुरुङ

सुर्खेत, १४ पुस : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कालीकोट पलाता गाउँपालिकाका अग्निपीडितलाई रु चार करोड ३५ लाख सहयोग दिने निर्णय गरेको छ ।

 

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलनगरी शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकबाट भएका अग्निपीडितलगायत अन्य निर्णय सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश सरकारको ३२औँं मन्त्रिपरिषद् बैठकबाट पलाता गाउँपालिका–१ न्यौपाने खाडाका अग्निपीडित प्रतिघरपरिवारलाई आवास निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

“यही पुस ८ गते राति आगलागी भएको उक्त बस्तीमा भोलिपल्ट पुगेर प्रदेश सरकारले प्रतिघरपरिवार रु २० हजार नगद र अन्य राहत सामग्री सहयोग गरिसकेको छ,” प्रवक्ता केसीले भन्नुभयो,“बैठकबाट अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रम सञ्चालन, उनीहरुको आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोगसमेत गर्ने निर्णय भएको छ ।”
उहाँका अनुसार बैठकले आगलागीबाट भएको आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको छ । त्यसैगरी अग्निपीडितको उद्धार, अस्थायी बसोवास, खाद्यान्न, लत्ताकपडालगायत आर्थिक तथा भौतिक सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ÷संस्था र सहयोगी व्यक्तिलाई प्रदेश सरकारको तर्फबाट हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताउनुभयो ।

आगलागीबाट जलेर नष्ट भएका ८७ घरपरिवारको पुनःस्थापनमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी सङ्घ संस्था र व्यक्तिसँग प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

अस्पताल समितिका अध्यक्ष चयन

कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तरगत १० जिल्लाका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चयन गरेको छ ।

बैठकको निर्णयबाट प्रदेश अस्पताल सुर्खेतको व्यवस्थापन समितिको अध्यक्षमा श्यामलाल कँडेल, सदस्य हरिमाया शर्मा, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणि मल्ल, डोल्पामा तेजेन्द्र रोकाय, हुम्लामा छेपाल दोर्जे लामा तामाङ् र कालीकोटमा सरोज बोगटीलाई चयन गरिएको प्रवक्ता केसीले बताउनुभयो ।

त्यसैगरी, जिल्ला अस्पताल दैलेखको अध्यक्षमा लोमन शर्मा, जाजरकोटको अध्यक्षमा धर्मशिला बस्नेत, रुकुम पश्चिमको अध्यक्षमा सुन्दर ओली, जिल्ला अस्पताल सुर्खेत मेहलकुनाको अध्यक्षमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयको अध्यक्षमा मनोज बुढाथोकी मगरलाई चयन गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री केसीका अनुसार बैठकले अन्तरप्रदेश समन्वय परिषद्को २०७५ पुस ३ गतेको बैठकले स्वीकृत गरेको सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णयसमेत गरेको छ । रासस

प्रतिक्रिया