जग्गा भाडामा लिएर केराखेती

शर्मिला गुरुङ

कञ्चनपुर, १४ पुस : बेलौरी नगरपालिका–६ विद्यानगरमा दुई किसानले चार बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन् ।


स्थानीयवासी प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयवासीको जग्गा प्रति बिगाको वार्षिक रु ५८ हजार देखि रु ६५ हजारमा भाडा तिर्ने गरी केराखेतीका लागि लिएका छन् ।

नाताले काका भतिजा पर्ने उहाँ दुवैले भाडामा लिएको जग्गामा छ हजार ५०० वटा जिनौ जातका केराका बोट रोपेका छन् । नगरपालिकाको कृषि शाखाले केराका बिरुवाको मूल्यको ५० प्रतिशत रकम अनुदानस्वरुप व्यहोरेको छ ।

भाडामा लिएको जग्गामा केराखेतीका लागि रु १५ लाख लगानी गरिएको कृषक प्रतापले बताउनुभयो । अझै दुई बिगाहा जग्गामा केराखेती विस्तार गर्नका लागि जग्गा खोजीको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केरा खेतीकै लागि बैंकबाट रु २५ लाख ऋण लिएका छौं, जसमध्ये चार बिगाहा जग्गामा रोपेको केरामा रु १५ लाख खर्च भएको छ ।”
उन्नत जातको केरा भएकाले एक वर्षमै खर्च कटाएर रु २० देखि रु २५ लाख सम्म आम्दानी हुने उहाँले बताउनुभयो । केरासँगै अन्तरबालीका रुपमा आलु र खुर्सानी रोपेर उहाँहरुले अतिरिक्त आम्दानी गरेका छन् । विसं २०६२ देखि करमसिंहले भने केराखेती गर्दै आएका छन् । उहाँले विगतमा १२ विघा जग्गामा केरा खेती गरेर जिल्लामै पहिलो किसान बन्नु भएको थियो । भाडामा जग्गा नपाइदा थोरै जग्गामा केरा खेतीमा चित्त बुझाउनु परेको उहाँले बताउनुभयो ।

“बाहिरको व्यक्ति भन्दा भतिजासँग मिलेर केराखेती गर्दा सहज हुने भएकाले यस वर्षदेखि आधुनिक तरिकाले केराखेतीलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । केरा गोडमेल, बगान व्यवस्थापन गर्न, मल राख्न, सिँचाइ गर्न, टुसा हटाउने लगायतका कार्य गर्नका लागि ज्यालादारीमा २० जना कामदारलाई उहाँहरुले रोजगारी समेत दिनुभएको छ ।

खेतमा रोपेको केरा १५ महीनामा बजारमा बेच्नका लागि तयार हुने बताइएको छ । केराको माग अधिक रहेकाले बजारमा सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो केरा रु ३५ देखि रु ४० प्रति दर्जनका दरले कैलाली कञ्चनपुरसँगै डडेल्धुरासम्म बिक्रीका लागि व्यापारीले लैजाने गरेका छन् । केराखेतीमा संलग्न करमसिंहले भारतको उत्तरप्रदेशको लखनउका किसानले गरेको केराखेतीबाट पाठ सिक्दै उहाँहरु तालीम बिना नै केराखेतीमा जुट्नु भएको हो । रासस

प्रतिक्रिया