पुरस्कारको कार्यक्रमले दुग्ध उत्पादनमा वृिद्ध

शर्मिला गुरुङ

भरतपुर, १४ पुस : चितवनको कालिका नगरपालिकाले व्यावसायिक किसानलाई पुरस्कारको व्यवस्था गरेपछि दुग्ध उत्पादनमा वृिद्ध भएको छ ।


नगरपालिकाले व्यावसायिक रुपमा गाईभँैसी पाल्ने र १० हजार लिटर बढी दुग्ध बेच्ने किसानलाई वार्षिक रु २५ हजार पुरस्कारको घोषणा गरेपछि पशुपालनमा किसानको आकर्षण बढेको हो । पुरस्कारको कार्यक्रमपछि एक वर्षको अवधिमा दैनिक ३५ सय लिटर दूध उत्पादनमा वृिद्ध भएको छ ।

“यसअघि नगरपालिकामा दैनिक १० हजार लिटर दूध उत्पादन हुने गरेको थियो”, नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले भन्नुभयो, “पुरस्कारको कार्यक्रम सञ्चालन गरेको एक वर्षमै दैनिक तीन हजार ५०० लिटर दुग्ध उत्पादन बढेको छ ।” नगरपालिकाको कार्यक्रम पश्चात धेरै युवा विदेश नगई व्यावसायिक पशुपालनमा लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नगरभित्रका किसानलाई व्यावसायिकमुखी बनाउने उद्देश्यका साथ पुरस्कार र अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । व्यावसायिक रुपमा दूध उत्पादन गर्ने किसानलाई घाँस काट्ने उपकरण, काउ म्याट, चिलिङ भ्याट, क्यान, घाँसको बीउ लगायत आवश्यक उपकरण वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले १५ भन्दा बढी गाईभँैसी पाल्ने किसानलाई गोठ सुधारका लागि एक लाख बराबरको अनुदानको समेत व्यवस्था गरेका छ । आर्थिक वर्ष २०७४÷७५ मा वार्षिक १० हजार लिटर दूध उत्पादन गर्ने १२ जनाले रु २५ हजारका दरले पुरस्कार पाएका छन् । यसवर्ष २५ जना किसान पुरस्कारका लागि योग्य हुने नगरपालिकाको अनुमान छ ।

वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मीले आर्थिक सहयोग भन्दा पनि किसानलाई प्राविधिक सहयोगमा जोड दिइएको बताउनुभयो । नगरपालिकामा बजारिकरणको समस्या नरहेको भन्दै अझै व्यवस्थित बनाउने अभियानमा लागेको उहाँले जानकारी दिनुभयो । उक्त नगरपालिकामा करीब तीन हजार ५०० किसानले गाईभैँसी पालिरहेका छन् । नगरपालिकाभित्रै पाँच वटा सङ्कलन केन्द्र र चारवटा चिस्यान केन्द्र स्थापना भएका छन् । रासस

प्रतिक्रिया