सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर : उपरीक्षक लामा

admin

काठमाडौँ, १४ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताउनुभएको छ । काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत आज आयोजित नागरिक सुनुवाइ कार्यक्रममा उहाँले शान्तिसुरक्षा तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी अहोरात्र खटिएको उहाँले दाबी गर्नुभयो ।

समुदाय–प्रहरी साझेदारीको अवधारणा, समुदायमा प्रहरीको जवाफदेहिता, सुशासन प्रवद्र्धन, सुरक्षा सुदृढीकरण, अपराध रोकथाम एवं न्यूनीकरणलगायतका विषयमा नागरिक सुनुवाइ भएको गरिएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक लामाले सुरक्षासम्बन्धी स्थानीयले राखेका जिज्ञासाको निरुपण गर्दै नागरिकसँग समन्वय र सहकार्यमा सभ्य एवं सुरक्षित समाज निर्माणका लागि प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले काठमाडौँ परिसरबाट भएको काम कारवाही, उपलब्धि एवं आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो । यसैका लागि नै समुदाय प्रहरी साझेदारी अवधारणा आएकाले अहिले गाउँटोलमा नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बन्दै गएको प्रहरीको भनाइ थियो । प्रहरीले सबै पालिका तथा स्कूलमा समिति बनाएर अभियानात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालले एचआर इन्टरनेशनल म्यानपावरसँगको सहकार्यमा प्राप्त दुई थान ह्विलचेयर प्रहरी वरिष्ठ उपरीक्षक लामाले काठमाडौँ महानगरपालिका– ५ भत्केकोपुल बस्ने सुनिता शाह र सुनित शाहलाई प्रदान गर्नुभयो । कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्थानीय बुद्धिजीवी, उपत्यकास्थित विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीलगायतको सहभागिता थियो ।
-रासस

प्रतिक्रिया