‘मुस्लिम समुदाय पछाडि पर्नुका कारण अशिक्षा’ :मुख्यमन्त्री पोखरेल

admin

राँझा, १४ पुस: प्रदेश नं ५, सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले मुस्लिम समुदायको शिक्षामा पहँुचका लागि प्रदेश सरकारले चासो दिएको बताउनुभएको छ । शिक्षा र चेतनाको कमी भएका कारण मुस्लिम महिला पछाडि परेको बताउँदै उहाँले भन्नुभयो, “मुस्लिम महिलासँगै समग्र मुस्लिम समुदायको विकासका लागि आधुनिक शिक्षा जरुरी भएको छ । अब मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा लैजान मुस्लिम समुदाय तयार हुनुपर्दछ ।”

सञ्चारिका समूहले आज नेपालगञ्जमा आयोजना गरेको ‘मुस्लिम महिलाको राजनीतिमा पहुँचसम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पोखरेलले मदरसा शिक्षालाई आधुनिकीकरण गर्न जरुरी भएको बताउनुभएको हो । मुस्लिम समुदायमा अझै पनि छोरीलाई नपढाउने चलन रहेको उल्लेख गर्दै उहाँले मुस्लिम समुदाय पछाडि पर्नुको प्रमुख समस्या नै अशिक्षा रहेको दाबी गर्नुभयो । शिक्षामा पछि परेका कारण राजनीतिमा पनि मुस्लिम समुदायको अर्थपूर्ण उपस्थिति हुन नसकेको उहाँको धारणा थियो ।

प्रदेश नं ५ का १० वटा जिल्ला पूर्ण साक्षर भए पनि मुस्लिम समुदायको बाहुल्यता रहेको बाँके र कपिलवस्तु जिल्ला पछाडि परेकाले प्रदेश सरकारले विशेष साक्षरता अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । “मदरसा शिक्षाबाट मुस्लिम समुदायलाई बाहिर निकालेर मदरसालाई आधुनितातर्फ लैजान हामीले पहल गरिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा ल्याउन स्थानीय तहसँग मिलेर प्रदेश सरकारले साक्षरता अभियान सञ्चालन गर्नेछ ।”

मुस्लिम समुदायमा अझै पनि सामूहिक निर्णयलाई विश्वास गर्ने परम्पराले पनि व्यक्तिको भूमिका कम हुने र राजनीतिमा आउन समस्या देखिने गरेको उल्ल्ेख गर्दै उहाँले भन्नुभयो, “मुस्लिम समुदायका प्रत्येक व्यक्तिमा राजनीतिक विचार धारा हुन आवश्यक छ र राजनीतिक दलले पनि वैचारिक र साङ्गठनिक गतिविधि मुस्लिम समुदायमा पु¥याउन सक्नुपर्छ ।”
-रासस

प्रतिक्रिया