नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन

admin

राँझा, १४ पुस: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताउनुभएको छ । आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उहाँले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयोे । 

मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगञ्जको दूरी घटाएको धारणा व्यक्त गर्नुभयो । 

 

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिकट माध्यमबाट सर्वसाधारणलाई टिकट किन्ने व्यवस्था मिलाइने बताउनुभयो । दुई वर्षदेखि पर्यटन परमिटका आधारमा बस सेवा सञ्चालन गर्दै आए पनि अब मैत्री बस सेवा सञ्चालनका लागि आधिकारिक अनुमति प्राप्त भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो । 

 

नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि बस सेवा सञ्चालन गर्न नेपाल सरकार र भारतको उत्तर प्रदेश यातायात परिवहन निगमबाट भेरी यातायात प्रालि सूचिकृत भएको उहाँले जानकारी दिनुभयो । “अब नेपालको तर्फबाट भेरी यातायात प्रालिका बस भारतको राजधानी नयाँ दिल्लीसम्म यात्रु बोक्ने छन् भने भारतको तर्फबाट उत्तर प्रदेश यातायात निगमका बस नेपालगञ्ज आउने भएका छन्”, प्रालिका कानूनी सल्लाहकार प्रमोद धितालले भन्नुभयो, “यसले नेपालगञ्जलगायत प्रदेश नं ५ मा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने छ ।” 

-रासस

प्रतिक्रिया