मन्त्रीले प्रतिबद्धता पूरा गरेपछि स्थानीय खुशी

admin

जाजरकोट, १५ पुस: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । मन्त्री बस्नेतले गर्नु भएको प्रतिबद्धता पूरा भएपछि जाजरकोट कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणकार्य थालिएको १२ वर्ष पुग्दासम्म वर्षेनी सडक खन्दै पुर्दै गर्दा विकास नभएको भनी तीव्र आलोचना भएका बेला मन्त्री बस्नेतले पटक–पटक स्थलगत रूपमा अवलोकन गरी केन्द्रबाट पठाएको बजेट सदुपयोग र काममा निगरानी गरेपछि अहिले एक वर्षभित्र यातायात सञ्चालनमा आएको कुशेगाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपाली बताउनुभयो । एक हप्तादेखि जाजरकोट कुशेगाउँपालिकाको थर्पुमा बस सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । 

जाजरकोट शिवालय गाउँपालिकाको छेडाचौरदेखि थलहबजार–ढुङ्गील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिका–६ थर्पुसम्म सडक निर्माण गर्न थालिएको १२ वर्षपछि बस सञ्चालनमा आएसँगै अब यहाँको जीवनस्तर माथि उठ्ने विश्वास लिएको नेपालीले बताउनुभयो । उत्पादन क्षेत्र, बाक्लो मानवबस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थललगायत स्थानसम्म छिटोभन्दा छिटो सडक पु¥याउने लक्ष्यअनुसार काम भइरहेकाले निरन्तर अनुगमनदेखि गुणस्तरसम्मका काम हेरफेर भइरहेको सांसद गणेशप्रसाद सिंहले बताउनुभयो । कुशेगाउँपालिकामा सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीको भण्डारका रूपमा चिनिन्छ  । 

 

जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने दिनको अन्त्य भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । 

-रासस

प्रतिक्रिया