मध्यपुरमा सकियो नवदुर्गा नाच

शर्मिला गुरुङ

भक्तपुर, १५ पुस : मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिएको थियो ।

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेकाले सुरक्षाको कारण देखाउँदै देवगणले नाच प्रदर्शन गरेका थिएनन् ।

यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचमा सुरक्षाको प्रत्याभूति र आवश्यक खर्च उपलब्ध गराउने गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको साँझदेखि प्रदर्शन गरिएको थियोे । उहाँले अब मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन कहिले नरोकिने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र साँस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरिएकाले यो नाचसँगै नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा नगरपालिका सक्रिय हुनेमा जोड दिनुभयोे ।

एकसातासम्म यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट र गाम्चामा समेत प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया