गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

शर्मिला गुरुङ

सिन्धुली, १४ पुस : शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन स्वास्थ्य संस्थामा जान सहजता प्रदान गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षदेखि हालसम्म छ वटा नवजात शिशुको घरैमा सुत्केरी गराउँदा ज्यान गएपछि गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य संस्थामा एम्बुलेन्सबाट लैजाँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कतिपयले घरमा नै प्रसूति गराउँदा नवजात शिशुमा समस्या नहुने तर आमामा विभिन्न समस्या भएको भन्दै स्वास्थ्य उपचारका लागि वडामा आर्थिक सहयोग माग्ने र आर्थिक सहयोगका लागि सिफारिस लिन आउने क्रम बढ्न थालेपछि वडाले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

पैंसठ्ठी प्रतिशतभन्दा बढी गर्भवतीले घरमा नै प्रसूति गराउने गरेको वडा अध्यक्ष राउतले बताउनुभयो । पहिलो पटक वडाले गर्भवतीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको र यो प्रभावकारी भएमा विस्तारै थप गर्दै जान सकिने उहाँको भनाइ छ । घरमा नै प्रसूति गराउने महिलामा आङ खस्नेलगायतका विभिन्न रोग लाग्ने गरेको छ ।

गर्भवती महिलाले घरमा नै बसेर सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जोखिम भएको भन्दै सुरक्षित मातृत्वका लागि यस्तो निर्णय गरिएको र यस निर्णय माघ १ गतेदेखि कार्यान्वयन हुने उहाँको भनाइ छ ।
वडाले स्वास्थ्य संस्थाले प्रदान गर्ने जन्म प्रमाणपत्रका आधारमा बालबालिकाको जन्म दर्ता गर्ने र जन्म प्रमाणपत्र पेश नगरेमा जन्म दर्ता गराउन रु ५०० लाग्ने पनि वडाले निर्णय गरेको छ । रासस

प्रतिक्रिया