दमौली, १६ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले पार्टी पुरानै ढर्राबाट अगाडि बढ्न नसक्ने बताउनुभएको छ । त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काङ्ग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधनका क्रममा उहाँले पार्टीमा सभापति शेरबहादुर देउवाविरुद्ध आफूहरुले मोर्चाबन्दी नगरेको स्पष्ट पार्दै पार्टीलाई विधि र विधानानुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले पार्टीलाई एकढिक्का बनाउन मेलमिलाप आवश्यक रहेकामा जोड दिनुभयो । पूर्वजिल्ला सभापति एवं संविधानसभा सदस्य धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी कमजोर अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, संविधानसभा सदस्य झुलबहादुर आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
-रासस