हेटौँडा, १६ पुस : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्र स्वतन्त्रताको सुरक्षा गर्न एवम् गणतन्त्रलाई सुढृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मकवानपुरद्वारा ४९ औं राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले प्रतिपक्ष दल काङ्ग्रेससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
सो अवसरमा प्रदेशसभाका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा केही समूह विखण्डनका लागि तयार रहेका उल्लेख गर्दैै विपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापबाट राष्ट्रको सार्वभौमको रक्षा र प्रजातन्त्रको सुढृढीकरणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कार्यलय प्रमुख, मकवानपुरका प्रजिअ आस्मान तामाङ, प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ, विभिन्न दलका प्रतिनिधि, सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।
यसैबीच आजै सोही अवसरमा आयोजित एक अर्को कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरेले जननायक विपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापले बाट मुलुकमा प्रजातन्त्रको पुनःस्थापना र राष्ट्रियतालाई सबल बनाउन सक्षम भएको बताउनुभएको छ ।
-रासस