तरकारी खेतीमा सक्रिय टिकीसरा

शर्मिला गुरुङ

बेझाड, १९ पुस : रामपुर नगरपालिका–५ राङभाङ बस्ने टिकीसरा गौतमले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

आजभन्दा २३ वर्षअघि देखि गौतमले व्यावसायिक रुपमा तरकारी खेती थालनी गर्नुभएको हो । उहाँले अहिलेसम्म पनि यो व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ । करीब चार रोपनी क्षेत्रफलमा तरकारी लगाएर वार्षिक रु पाँच लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

“तरकारी खेतीबाट नै घर, छोराछोरीको पढाइ खर्च राम्रैसँग चलेको छ, दिनहुँ तरकारी बेच्यो हातमा दाम परिहाल्छ,” गौतमले भन्नुभयो । उहाँको दैनिकी तरकारी लगाउने, गोडमेल र बिक्री गर्ने कार्यमा बित्छ । यहाँ उत्पादित तरकारी रामपुरको बेझाड बजारमा बिक्री हुन्छ । “व्यापारी घरमै पनि आउँछन्, तरकारी टिप्न शुरु भएको छैन, तरकारी बोटमै हँुदा पहिले नै पैसा बुझाएर जान्छन्,” उहाँले भन्नुभयो ।

तरकारी खेतीबाटै गौतमको पाँच जना परिवारको गुजारा राम्रोसँग चलेको छ । गौतमले बाह्रै महीना मौसमी तथा बेमौसमी जातका तरकारी लगाउने गर्नुहुन्छ । सिँचाइका लागि गौतमले इनारबाट पानीको व्यवस्था मिलाउनुभएको छ । गौतम यस क्षेत्रमै व्यावसायिक रुपमा तरकारी खेती गर्ने पहिलो कृषक हुनुहुन्छ । अहिले भने गाउँघरमा उहाँको व्यवसायको धेरैले सिको गर्दै तरकारी खेती गर्न थालेका छन् ।

गौतमलाई तरकारीमा लाग्ने रोग कीरासम्बन्धी राम्रो ज्ञान छ । “काम गर्दै जाँदा अहिले कृषि प्राविधिकसँग सोधपुछ गर्नै पर्दैन, तरकारी खेतीमा धेरै अनुभव लिइयो, गाउँघरमा छिमेकीलाई रोग, कीराबारे आफ्नो अनुभव बताउँदै समस्याको समाधान गर्न सक्ने भए,” कृषक गौतमको भनाइ थियो ।

कहिलेकाँही बाहिरबाट केही व्यापारीले तरकारी रामपुरमा भित्र्याउँदा बजारमा भने अनुसारको मूल्यमा बिक्री गर्न समस्या हुने गरेको गौतम बताउनुहुन्छ । फुर्सदको समय खाली बस्नभन्दा तरकारी लगाएर आयआर्जन गर्न छिमेकी महिलालाई पनि उहाँ अनुरोध गर्नुहुन्छ ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

रामपुर नगरपालिका –८ पाल्पाले वडाका ७५ वर्ष माथिका २५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको छ ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बुधबार १२ पुरुषलाई जाडोमा लगाउने ज्याकेट र १३ महिलालाई स्वेटर प्रदान गर्नुभयो । ज्येष्ठ नागरिक समाजका पाहुना भएको र उनीहरुलाई सम्मानजनक बाँच्न हौसला प्रदान गर्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको वडाध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । रासस

प्रतिक्रिया