काठमाडौँ, १९ पुस: साँझको ७ बजेको थियो । तापक्रम करीब शुन्य डिग्री तल झरेको थियो । काठमाडाँैको बसन्तपुर दरबार क्षेत्रको एउटा मन्दिरको चिसो सिंडीमा बुधवार राति बोरा ओच्छ्याएर ५७ वर्षीय कृष्ण श्रेष्ठ सुतिरहनुभएको थियो । थोत्रा कपडा उनेर एउटा थोत्रो व्ल्याङ्केटले चिसो छल्ने प्रयासमा हुनुहुन्थ्यो उहाँ ।
“बा १ किन सुत्नुभएको यसरी रु”, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सोध्नुभयो । “छोरा बुहारीसँग कुरा नमिलेर”, व्ल्याङ्केटबाट सानो प्वाल पारी मुन्टो निकालेर श्रेष्ठले उत्तर दिनुभयो । लहरेखोकी लागे झैं निरन्तर ख्वाङ्–ख्वाङ् गरिरहनुभएको उहाँको छातीमा घ्यारघ्यार भइरहेको थियो । सायद चिसोले उहाँ ग्रस्त हुनुहुन्थ्यो ।
“अब हामीसँग जाने है बा, न्यानोमा सुत्ने, नयाँ सिरक–डसना पनि छ, घरमा गएर सुत्ने है, ल उठ्नुस्,” प्रहरी नायव उपरीक्षक पोखरेलले भन्नुभयो । केही बेरको आनाकानी पछि श्रेष्ठले सहमती जनाउनुभयो । प्रहरी नायव उपरीक्षक पोखरेल र महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बुसहित प्रहरीको एक समुहले उहाँलाई सम्झाउँदै बोकेर गाडीमा राखे । नजिकै अर्को मन्दिरको सिंडीमा तीन जना सुतिरहेका थिए । धादिङ्का दिपबहादुर सिम्खडा अलि बृद्ध हुनुहुन्थ्यो भने ज्ञानेन्द्र विक र अरुण गौतम काम गर्न सक्ने देखिनुहुन्थ्यो । भारी बोकेर मजदुरी गरी गुजारा गर्दै आउनुभएका ज्ञानेन्द्र विकले कसैले कोठा नदिएकाले ६ महिनादेखि मन्दिरको सिंडीमा सुत्दै आउनुपरेको दुखेसो पोख्नुभयो ।
अरुण गौतमले भने कोठा खोज्दै गरेकाले एक दुई दिनमा सर्ने तयारीमा रहेको बताउनुभयो । असक्त सिम्खडालाई भने प्रहरीले त्यहीबाट उद्धार गर्यो । यती गर्दा राती ८ बजेको थियो । चिसोले सबैलाई लुगलुग बनाईरहेका बेला मन्दिर क्षेत्रको दृष्य भने फरक थियो । नजिकका पसलमा किनमेलको चहलपहल रोकिएको थिएन । गाडीहरु आफ्ना गन्तव्यमा हुँईकिरहे कै थियो । तर यी असक्तहरुको छुट्टै सन्सार देखिन्थ्यो । कोही कता, कोही कता लडिरहेका थिए । हरेकका फरकफरक अलाप र परिस्थतिले यहाँ आईपुगेका थिए ।
नजिकैको सडकमा बोराभरी थोत्रा लुगाकपडा र विभिन्न सामाग्री लिएर बस्नुभएका रुपन्देहीका ७० वर्षीय परदेशी थारुलाई प्रहरी नायव उपरीक्षक पोखरेलले भन्नुभयो, “बा हामीसँग जाउँ है, चिसोमा बस्नु हुँदैन, हामी सिरक डसना दिएर घरमा राख्छौं ।” “ना हामी नजाने,” थारुले सिधा उत्तर दिनुभयो ।
“यस्तो चिसोमा बस्नु हुन्न, विरामी परिन्छ,” प्रहरी नायव उपरीक्षक पोखरेलले भन्दा थारुले हात जोडेर अलाप गर्न थाल्नुभयो, “मलाई साहुले मार्छ, मेरो काम विग्रन्छ, त्यसो नगरौं हजुर ।” पोखरेलका अनुसार कुनै व्यक्तिले उहाँलाई ल्याएर माग्न राखेको या कसैले लुटेको हुन सक्छ । त्यसैले उहाँ डराईरहनुभएको थियो । “अब हामी लगेर सुक्ष्म अनुसन्धान गर्छौ, त्यसपछि खुल्न थाल्छ कुरा,” उहाँले भन्नुभयो । त्यस्ता व्यक्ति भए त्यसलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता पोखरेलले व्यक्त गर्नुभयो ।
उपत्यकाको मन्दिर, सडक, प्रतिक्षालयमा समुह समुह बनाएर प्रहरीले यस्ता अशक्तहरुको खोजीमा राती हिंडेका थिए । उनीहरुलाई लायन्स क्लव अफ काठमाडौ, समर्पणका सदस्यले साथ दिईरहेका थिए । सङ्कटा मन्दिर छेउमा मागेर बस्ने दोलखाका ६६ वर्षीय मानबहादर लामालाई पनि प्रहरीले राती नै उद्धार गर्यो । पहिरोले दुबै गोडा भाँचिएर समस्या भएपछि मागेर जिवन गुजार्न थालेको मानबहादुरले बताउनुभयो । महाङकाल मन्दिरबाट प्रहरीले ९२ वर्षीय विजय शिवाकोटी र अर्का दिनानाथ उपाध्ययलाई पनि उद्धार गर्यो । शंकरदेव क्याम्पस नजिकैबाट शुक्रमायाँ श्रेष्ठ र एक जना पहिचान नखुलेकासहित बुधबार राती ९ बजेसम्ममा प्रहरीले ८ जना वृद्धवृद्धा, अशक्तलाई उद्धार गरेको थियो ।
उहाँहरुलाई राती नै ज्येष्ठ नागरिक समाजद्वारा सञ्चालित लैनचौरमा रहेका आश्रममा लगेर राखिएको छ । उनीहरुलाई खानका लागि खाद्यन्नसहित जाडोका लत्ताकपडा, कम्बल, सिरक, म्याट र जनही रु एक हजारका दरले लायन्स क्लव अफ काठमाडौ समर्पणका अध्यक्ष विनितकुमार शारदाले आश्रम सञ्चालक कृष्णकुमार ढकाललाई हस्तान्तरण गर्नुभयो । यती गर्दा रातको करिब १० बजेको थियो ।
उहाँहरुले पहिले यस्ता सडकमा बस्नेहरुलाई केही आर्थिक सहयोग सँगै सिरक डसना समेत बाँड्नुभएको थियो । तर पछि बुझ्दै जाँदा त्यो सामान बेचेर मदिरा खाने गरेको पाईयो । “यो थाहा पाउँदा हामीले अपराध गरेका रहेछौं भन्ने लाग्यो,” अध्यक्ष विनित कुमारले रासससँग भन्नुभयो, अब हामी परिवर्तन भयौं र प्रहरीसँग हातेमालो गरेर उहाँहरुको उद्धारमा लाग्यौं ।”
मंगलबार मात्रै प्रहरीले कालिमाटी, स्वयम्भू र सीतापाइला क्षेत्रबाट ७ जनाको उद्धार गरी हिमालय वृद्धाआश्रम गोंगबुमा राखेको थियो । महानगरीय प्रहरी परिसरले १५ दिन अगाडि नै योजना बनाएर त्यस्ता वृद्धवृद्धालाई उद्धार गरेको छ । उद्धार गरिएका उनीहरुलाई राख्ने ठाउँको समस्या छ । परिसर प्रमुख वसन्तकुमार लामासँगको छलफलपछि वृद्धवृद्धा र असहायहरुको उद्धार गर्ने तथा पुनस्थापना अभियानको योजना बनाइएको थियो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले अहिलेसम्म यस्ता सहयोगापेक्षी १२८ जनाको नामावली सङ्कलन गरेको जानकारी दिनुभयो । सहयोगको अपेक्षा गरेर हिँड्ने व्यक्ति काठमाडौँमा २०० भन्दा बढी रहेको अनुमान प्रहरीको छ । सडकमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भएका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको उद्धार तथा पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रहरीको लक्ष्य रहेको परिसरका प्रवक्ता बोगटीको भनाइ छ ।
उद्धार गरिएका व्यक्तिका परिवार तथा आफन्तलाई खोज्ने, आवश्यक उपचार, परामर्श दिइ समाज तथा परिवारमा पुनःस्थापना गर्ने कार्यमा विभिन्न सङ्घसंस्थासँग समन्वय गरेको उहाँले बताउनुभयो । समन्वय गर्ने र सहयोगी सङ्घसंस्थाको भने अझै खाँचो रहेको प्रहरीले जनाएको छ । काठमाडौँको सडकलाई व्यवस्थित र सुरक्षित बनाउने तथा सडकमा जीवनयापन गर्न बाध्य नागरिकको जीवनमा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।
-रासस