सोलुखुम्बु, १९ पुस : सोलुखुम्बुमा आर्थिक वर्ष २०७४÷२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् । सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ ।
२०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया गरेर बच्चा जन्माएका र बाँकी २६३ जनाको सामान्य तरिकाबाट बच्चा जन्माएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताउनुभयो ।
छ गर्भवती महिलाको ज्यान गयो
गत आर्थिक वर्ष २०७४÷०७५ मा सोलुखुम्बुमा छ जना गर्भवती महिलाले ज्यान गुमाएका छन् । छेस्काम पेल्माककी ३२ वर्षीया महिला र देउसा चेराखुकी १८ वर्षीया महिलाको शाल अडकिएर तथा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० वर्षीय महिला र देउसा गैरीगाउँकी १८ वर्षीया महिलाकोे अत्यधिक रक्तस्रावका कारण ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै काँकु नामकी २४ वर्षीया महिला र देउसा रनेमकी ३० वर्षीया अर्की महिलासहित गत वर्षमा छ जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये चारको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनु वा अस्पतालमा प्रसूति नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताउनुभयो ।
।