११ युवतीको बलात्कार गरी हत्या गर्ने सिरियल किलरलाई मृत्युदण्ड

रिता घिसिंग

एजेन्सी : चीनमा ११ महिलाको हत्या गर्ने सिरियल किलर गाओ चेंगयोंगलाई मृत्युदण्ड दिइएको छ । गाओलाई गएको मार्चमा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई ३ जनवरीमा मृत्युदण्ड दिइएको हो । गाओले महिलाहरुलाई बलात्कार गरेपछि विभत्स तरिकाले उनीहरुको हत्या गर्थे । यी भयानक सिरियल किलरले रातो कपडा लगाएका महिलालाई मात्र आफ्नो शिकार बनाउँथे । बलात्कार र हत्याको तरिका उस्तै भएका कारण उनलाई चीनको ‘ज्याक द रिपर’ भनिन्थ्यो ।

गाओले १९८८ देखि २००२ सम्म ११ महिलाको बलात्कार गरेर हत्या गरेका थिए । गाओ महिलाको पिछा गर्दै उनीहरुको घरसम्म जान्थे त्यसपछि घरमै एक्लो भएको बेला उनीहरुलाई बलात्कार गरेर विभत्स तरिकाले उनीहरुको हत्या गर्थे । उनी रातो कपडा लगाएका महिलालाई मात्र आफ्नो शिकार बनाउँथे । हत्यापछि उनी महिलाको शरीरलाई क्षतविक्षत बनाउँथे । गाओले महिलाका घाँटी, कान, नाक र हातका साथै गुप्तांग पनि काटिदिन्थे । उनको शिकार अधिकांश युवती २० वर्षको आसपास उमेर भएका थिए । एक पटक भने उनले ८ वर्षकी बालिकाको पनि बलात्कार गरी हत्या गरेका थिए ।

गाओलाई पक्राउ गर्नको लागि पुलिसले लामो समय प्रतिक्षा गर्नुपर्यो । पहिलो हत्याको २८ वर्षपछि २०१६ मा मात्र पुलिसले गाओलाई पक्राउ गर्न सकेको थियो । त्यसपछि अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । पुलिसका अनुसार गाओ यौन विकृतिबाट ग्रस्त थिए र उनी महिलाहरुसँग घृणा गर्थे । उनले अधिकांश अपराध चीनको गांसु प्रान्त र इनर मंगोलिया क्षेत्रमा गरेका थिए ।

पुलिसले यी हत्यारालाई पक्राउ गर्न निकै ठूलो अभियान चलाएको थियो । तर, उनी पक्राउ पर्न सकेनन् । अन्ततः गाओका एक आफन्तलाई पुलिसले पक्राउ गरेपछि गाओलाई पनि पक्राउ गरियो । गाओका आफन्तलाई पुलिसले अर्कै अपराधका लागि पक्राउ गरेको थियो र त्यतिबेलासम्म पुलिसलाई उनी गाओका आफन्त भएको थाहा थिएन । तर, जब उनको डिएनए परीक्षण गरियो, डिएनए गांसुमा भएको रातो कपडा लगाउने महिलाको हत्यामा पाइएको डिएनएसँग मिल्यो ।

यही सुरागका आधारमा पुलिसले गाओलाई पक्राउ गर्न सफल भयो । गाओलाई चीनका ज्याक द रिपर भनिन्छ । ज्याक द रिपर बेलायतका कुख्यात हत्यारा थिए जसले १९८८ मा बेलायतमा ठूलो संख्यामा महिलाको बलात्कारपछि हत्या गरेका थिए । चेंगयोंग पनि त्यस्तै गरी युवतीको बलात्कारपछि उनीहरुको घाँटी काटेर हत्या गरेका थिए । यही कारण उनलाई चीनका ज्याक द रिपर भन्न थालिएको हो ।

प्रतिक्रिया