एजेन्सी : मन्दिर प्रवेशमा रोक लगाउने प्रदर्शनकारीहरूको भिडलाई चुनौती दिँदै एउटा प्रसिद्ध हिन्दु मन्दिर दुई महिला प्रवेश गरेर इतिहास नै रचेका छन् । विरोध प्रदर्शनकाबीच ३९ वर्षीया कनका दुर्गा र ४० वर्षीया बिन्दु अम्मिनीले बुधवार भारतको दक्षिणी राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गरि इतिहास रचेका हुन्।
उनीहरूले आफ्नो निर्णयबाट क्रोधित मानिसहरूको भिडसँग कुनै डर नभएको बताएका छन्। बीबीसीका अनुसार उनीहरूले महिला अधिकार कायम गर्नका लागि सो कदम चालेका हुन् ।
गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिनावारी हुने उमेरका महिलाहरूको प्रवेश र प्रार्थना गर्ने अधिकार विभेदकारी भएको बताएको थियो।
अदालतले १० देखि ५० वर्षसम्मको उमेरका महिलाहरूलाई सबरीमाला मन्दिर प्रवेशमा लगाइएको प्रतिबन्ध उल्ट्याइदिएको थियो।
लामो समयको प्रतिबन्धपछि अम्मिनी र दुर्गाले सादा पोशाकमा रहेका प्रहरीहरूका साथ बुधबार राति सफलतापूर्वक मन्दिर प्रवेश गरेका हुन्। उनीहरूको मन्दिर प्रवेशपछि हजारौँको प्रदर्शनले केरला राज्य ठप्प भएजस्तै भयो।
भारतको सत्तारुढ भारतीय जनता पार्टीद्वारा समर्थित दक्षिणपन्थी समूहहरूले केरला राज्य बन्दको माग गरेपछि व्यापार व्यवसाय र सवारी आवागमन ठप्प भएको थियो।
केरला राज्यभरबाट सयौँ मानिसहरू पक्राउ गरिएका छन् भने झडपका क्रममा कम्तिमा एक जनाको ज्यान गएको छ।
शुक्रवार एउटा गोप्य स्थानबाट बीबीसी हिन्दीसँग कुरा गर्दै कानुन विषयकी शिक्षिका अम्मिनीले भारतको संवैधानिक सिद्धान्त र नैतिकता कायम गर्न आफूले सबरीमाला जानै पर्छ भन्ने महसुस गरेको बताइन्।
“हाम्रो समाजमा लैङ्गिक न्याय एउटा महत्त्वपूर्ण मुद्धा हो जसको हामी सामना गरिरहेका छौँ। र सर्वोच्च अदालतको निर्णय कार्यान्वयनले समाजमा लैङ्गिक न्याय कार्यान्वयनमा सहयोग पुग्नेछ”, मन्दिर प्रवेशबारे उनले भनिन्।
“म मारिन सक्छु”, प्रदर्शनको प्रतिकृया दिँदै उनले भनिन्। तर अम्मिनीले सम्हालिँदै भनिन् क्रोधित जमातको “मलाई कुनै डर थिएन”।
अम्मिनीको कुरासँग सहमत हुँदै दुर्गाले पनि भनिन् ” म डराएकी छैन। महिलाहरूले कुनै कुरामा प्रगति गरेको बेला समाजमा खैलाबैला मच्चाउँछ।” दुर्गाले आफू एक जना श्रद्धालु भक्त भएको र उनले सबरीमालामा प्रार्थना गर्न चाहेको बताइन्।
हिन्दु धर्ममा महिनावारी भएका महिलाहरूलाई अशुद्ध मानिन्छ र उनीहरूलाई मन्दिर प्रवेशलगायत अन्य धार्मिक कृयाकलापमा सहभागी गराइँदैन। तर अधिकांश मन्दिरहरूमा त्यसबाहेकको समयमा महिलाहरूले सहज प्रवेश पाउँछन्।
केही प्रदर्शनकारीहरूले अदालतको फैसला सबरीमालामा पुजिँदै आएको इश्वर आयाप्पाको इच्छा विपरीत भएको भनी तर्क गरेका छन्।