काभ्रे, पुस २२ : नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा तोडफोड गरी चोरी भएको छ । अज्ञात समूहले २०७५ पौष २१ गते राति बनेपा नगरपालिका वडा नं. ६ मा रहेको महासंघको कार्यालय तोडफोड गरी चोरी गरेका छन् ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले आईतबार विज्ञप्ती प्रकाशन गर्दै घटनाको घोर भत्र्सना गरेका छन् । पत्रकार महासंघको कार्यालय माथी तोडफोड सहित चोरीको घटनाले सिङ्गो पत्रकारिता पेशा माथि आक्रमण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘अज्ञात समुहका नाममा महासंघको कार्यालयको मुल गेट फुटाई कार्यालय रहेको कोठा तथा अन्य कोठाहरु र कोठा भित्र रहेका टेबुलहरुको समेत ताला फुटाई गराईएको उक्त घटना निन्दनिय र भत्र्सनायोग्य छ’–विज्ञप्तीमा भनिएको छ– ‘पत्रकारिता पेशाबाट अतालिएको तथा नागरिकहरुको आवाजलाई सुन्न नसक्ने अराजक समुहले उक्त घटना घटाएको हाम्रो निश्कर्ष छ ।’ पत्रकार महासंघ माथि भएको आक्रमण, तोडफोड र चोरी प्रति घोर भत्र्सना गर्दै अविलम्ब दोषि पत्ता लगाई कडा कारवाहि गर्न प्रशासन समक्ष माग गरेको छ ।
राष्ट्रको चौथो अंगका रुपमा रहेको पत्रकारिता पेशा ब्यवसायिक, मर्यादित र नागरिकहरुको अभिन्न अंगका रुपमा अगाडी बढेको अवस्थामा प्रेसलाई त्रसित बनाउन तथा महासंघकै कार्यालय आक्रमण गरी स्वतन्त्र प्रेसलाई नियन्त्रणमा लिन खोज्ने जो कोहि भए पनि तत्काल नियन्त्रणमा लिई कारवाहि गर्न महासंघ काभ्रे शाखाले आग्रह गरेको छ ।