दोहोरी गायिका विष्णु माझी मलाई कसैले बन्धक बनाएको छैन भन्दै श्रीमान्संग आईपुगिन सीडीओ कार्यालय

रिता घिसिंग

पौष २३, काठमाडौँ : चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी मलाई कसैले बन्धक बनाएको छैन भन्दै श्रीमान् सुन्दरमणि अधिकारीसंग स्याङजाको सीडीओ कार्यालय पुगेकी छिन् ।

गीतहरु जति चर्चित छन् तर उनी त्यती नै गुमनाम भएकी विष्णुले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । पछिल्लो समय माझीको गुमनाम जीवनवारे टिकाटिप्पणी हुन थालेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनमा जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए । उनीहरु झण्डै करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा बिताएका थिए।

उनीहरू ट्याक्सी रिजर्भ गरेर प्रशासन पुगेका थिए । टाउकोमा पर्छौरा, मुखका मास्क, ओभर कोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर माझी पुगेकी थिइन् । कार्यालय भित्रपुगेपछिमात्र मुखको मास्क खोलेर बोलेकाे स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले जानकारी दिए ।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ। यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए ।

छलफलका क्रममा बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नभएको विष्णुले बताइन् । उनले भनिन्, आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याउनु भएको हो, म बन्धक छैन। मेरो इच्छा नै बाहिर सार्वजनिक हुन नचाहने हो, म मेरो जीवनदेखि खुशी छु।’

छलफलका क्रममा सुन्दरमणिले आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको बताए । उनले आफ्नो छुट्टै एउटा लक्ष्य भएको समेत बताए । विदेशबाट धेरैले कार्यक्रममा बोलाए पनि कम पढेको र विष्णुलाई मात्र लैजाने आफूलाई नलाने भनेपछि रोकेको अधिकारी भनाइ छ ।

विष्णुकी आमाले छोरीसँग नियमित भेट र कुराकानी भइरहेको प्रशासनलाई बताइन् । आफूसंगै काठमाडौंमा रहेकी बहिनी, आमा धर्मकुमारी, दाजु बाबुरामसँग विष्णु माझीको भेट भइरहेको बताए पनि बिहेपछि पहिलो पटक बाबा ताराबहादुर माझी (बाबु-छोरी) बीच भेट भएको बताइएको छ।

प्रतिक्रिया