एजेन्सी : बेलायती सेनाले नयाँ भर्ना खोलेको छ । तर, यो भर्नाको विज्ञापन निकै अनौठो छ । विज्ञापनमा उल्लेख भएअनुसार सेनाको लागि यस्ता युवाहरु चाहिएको छ जो सेल्फी खिच्ने, भिडियो गेम खेल्ने लत लागेका होउन् । सानो सानो कुरामा रिसाउनेहरुलाई पनि सेनाले प्राथमिकतामा राखेको छ । यसको लागि सेनाले पहिलो विश्वयुद्धका पोस्टरबाट प्रेरणा लिन्दै २०१९ का लागि पोस्टर जारी गरेको छ ।
विश्वयुद्धको बेलामा अमेरिका, बेलायत लगायतका कैयौं देशले ‘योर कन्ट्री निड्स यू’ (तपाइँको देशलाई तपाइँको आवश्यकता छ) अभियान चलाएका थिए । यो माध्यमबाट निकै रिसाहा र मुडी युवाहरुलाई सेनामा भर्ना गरिएको थियो । कैयौं ठाउँमा पोस्टर टाँसेर सेनाले विश्वयुद्धमा देशको साथ दिन अपिल गरेको थियो । त्यतिबेला यो अभियान निकै सफल पनि भएको थियो । यसैबाट प्रेरणा दिँदै नयाँ विज्ञापनका पोस्टर रिलिज गरिएको छ । यसमा ठूला ठूला अक्षरमा युवाको दैनिक जीवनका बानीहरुबारे उल्लेख छ ।
पोस्टरमा सेनालाई उनीहरुको कुन खुबीको आवश्यकता छ भन्ने पनि उल्लेख छ । सेल्फी लिने खौखिनहरुका लागि उनीहरुको आत्मविश्वास सेनालाई आवश्यक भएको उल्लेख छ । फोनमा झुण्डिनेहरुको लागि उनीहरुको एकाग्रता आवश्यक भएको उल्लेख छ । बेलायती सेनाका अनुसार आफूलाई कमजोर सम्झने युवाहरुलाई उनीहरुको महत्वाकांक्षा कति काम लाग्छ भनेर बुझाउन खोजिएको छ । सेनाका मेजर जनरल पल नेन्सनका अनुसार यो अभियानको माध्यमबाट सेनाले यो बताउन खोजिरहेको छ कि सेनाले जो कोहीको जीवनलाई फरक तरिकाले हेर्छ र सबैमा कुनै न कुनै सम्भावना हुन्छ ।
बेलायती सेना गतवर्ष आफ्नो भर्तीको लक्ष्य हासिल गर्नबाट चुकेको थियो । सेनाले आफ्नो लक्ष्य पूरा गर्न नसकेपछि युवाहरुमा सेनामा जाने चाहना कम हुँदै गएको मानिएको छ । त्यसैले बेलायती सेनाले यो नयाँ प्रयोग गरेको हो । बेलायतका रक्षामन्त्री गेविन विलियम्सले पनि सेनाको यो पहलको समर्थन गरिसकेका छन् । उनका अनुसार सेनामा आएपछि युवाहरुले मित्रता, रोमाञ्च लगायका कुराहरु सिक्न पाउनेछन् जो कुनै अन्य जागिरमा सम्भव छैन ।