आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएको भन्दै नेता नेपालको आपत्ति

रिता घिसिंग

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।

नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको दाबी गरे। सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए।

सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरेका हुन्। उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भईरहेको भन्दै आपत्ति जनाए।

वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको स्पष्ट पारे। उनले एशीया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिएका थिए।

सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ।

प्रतिक्रिया