‘वर्तमान सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छ’ : बडु

शर्मिला गुरुङ

काठमाडौं, २३ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनको लक्षण निरंकुश, स्वेच्छाचारी र अधिनायकवाद देखिएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ । संसद भनेको सरकारलाई उत्तरदायी बनाउने संस्था हो । तर, हिजो सदनमा सांसदहरुलाई प्रश्न गर्नसमेत दिईएन् । हामी सबैले मिलेर बनाएको प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्रीले बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । हिजो प्रश्न सोध्न दिईएन् ।’

नेता बडुले प्रधानमन्त्रीले हिजो जवाफ दिनुपर्दथ्यो भन्ने धारणा राखे । उनले भने,‘सरकार संसदप्रति जवाफदेही हुनुपर्छ । यो सरकार दुई तिहाईको हो । तर, दुई तिहाई भन्दैमा संविधानको बर्खिलापमा गएर काम गर्न हुँदैन । अहिले सरकारले संविधानको बर्खिलापमा गएर काम गरिरहेको छ ।’

उनले हिजो संसद जुन प्रक्रियामा पुगेर स्थगित् भएको हो अब पर्सी बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । उनले भने,‘सरकारले जवाफ दिनुपर्छ । २५ गतेको संसद चल्छ ।’ सरकार जवाफ दिनबाट भागेको पनि उनले आरोप लगाए ।

उनले भने,‘२५ गतेको बैठकमा प्रधानमन्त्री तयार भएर जवाफ दिन आउनुपर्छ । हाम्रो स्ट्याण्ड कायमै छ । सार्वभौम अधिकारसम्पन्न संसदको अधिकारमाथि सरकारले प्रहार गरेको छ ।’

वाईडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले प्रतिवेदन ल्याएको समयमा सरकारले नयाँ छानबिन समिति बनाउनु आपत्तिजनक भएको पनि उनले टिप्पणी गरे । उनले भने,‘सरकारले यो प्रकरणमा आँफैले छानबिन गर्छौं भनेर कसैलाई चोख्याउने काम गर्न लागेको छ । सरकारले संविधानविपरित कदम चालेको छ। निरंकुशता लाद्न खोजेको छ । न्यायालयमा पनि त्रास सिर्जना गरेको छ ।’

प्रतिक्रिया